सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ। जहाँ विद्यालयको चौरको वरिपरी बालबालिका र अभिभावकहरू बसिरहेका छन् । कोही उभिएका छन् । चौरको एकछेउमा स्वागतद्वार बनाइएको छ । त्यहाँ उभिएकाहरू कुनै विशिष्ट व्यक्तिको आगमनको पर्खाइमा रहेका देखिन्छन् । यत्तिकैमा नेपाली सेनाको एउटा हेलिकप्टर त्यही चौरमा अवतरणका लागि आइपुग्छ । जब हेलिकप्टर चौरनजिकै आउँछ चौर धुलोले भरिन्छ । अनि, त्यहाँ उभिएका स्कूले बालबालिका, खेलाडी र दर्शकहरूको भागाभाग हुन्छ । बालबालिका निस्सासिएर भाग्छन् । यो दृश्य जाजरकोटको छेडागाड नगरपालिका-३ स्थित जनप्रिय माध्यमिक विद्यालयको हो । जहाँ यही माघ २१ गते पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए, यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह ।उनी प्रतियोगिताको उद्घाटनका लागि सेनाको हेलिकप्टरमा पुगेका थिए । धुलाम्मे चौरमा हेलिकप्टर अवतरण गर्न खोज्दा वरपरको वातावरण नै धुलोमय बन्न पुगेको थियो । जसका कारण हेलिकप्टर समेत अवतरण गर्न सकेन ।
विद्यालयका प्रधानाध्यापक जय बहादुर थापाले कार्यक्रमस्थलमा हेलिकप्टर बसाल्न प्रयास गरिएको तर धेरै धुलो उडेपछि वडा कार्यालय भवनको आडैमा अवतरण गरिएको जानकारी दिए ।
‘भिडिओमा धेरै धुलो उडेको देख्नु भएको होला । हेलिकप्टर अवतरण गराउन खोज्दा धुलो उडेर दर्शक, खेलाडी र विद्यार्थीलाई थप असहजता हुने भएका कारण क्याम्पसको चौरमा अवतरण गर्ने प्रयास भयो । त्यहाँ सल्लाको रुखले ‘डिस्टर्व’ गरेपछि वडा कार्यालयको आडैमा हेलि अवतरण भएको हो’, उनले भने ।
प्रतियोगिताको आयोजक छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले कार्यक्रमका लागि मन्त्री शाह हेलिकप्टरमा आउँदा धुलो उडेको र दर्शक, खेलाडीहरू एकछिन तितरवितर भएको बताए । उनले मन्त्रीलाई प्रमुख अतिथिका रूपमा बोलाए पनि हेलिकप्टरको खर्च भने नबेहोरेको बताए ।
‘एकैछिन त्यहाँ धुलो उडेको हो’, उनले भने, ‘मन्त्रीज्यूले कार्यक्रममै आफ्नो निजी खर्चमा हेलिकप्टर ल्याएर आएको बताउनु भएको थियो । हाम्रो पालिकाबाट खर्च व्यवस्थापन भएको होइन ।’
मन्त्रीको प्रश्न- आफ्नै क्षेत्रमा निजी खर्चमा जान नपाउने ?
सामाजिक सञ्जालमा हेलिकप्टरले धुलो उडाएको भिडिओ भाइरल भएपछि मन्त्री शाहले आफ्नै क्षेत्रमा निजी खर्चमा जान नपाउने हो भन्दै प्रश्न गरेका छन् ।
‘दश दिन अघि नै मलाई त्यहाँका आमजनताले रनिङ शिल्डको उद्घाटन गर्न बोलाउनु भएको थियो । मेरो आफ्नै गृह जिल्लामा म गाडीमा जाऊँ वा हेलिकप्टरमा जाऊँ, त्यसको विरोध गर्नुको कुनै अर्थ देख्दिनँ’, मन्त्री शाहले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा उनीहरूले मेरो खेदो खनेका हुन् । मैले त्यही दिन उक्त कार्यक्रम र प्रदेशसभा स्थापना दिवसको अवसरमा सुर्खेतमा आयोजित समारोहमा पनि सहभागी बन्नुपर्ने भएकाले निजी खर्चमा नेपाली सेनाको हेलिकप्टरलाई प्रयोग गरेर गएको हुँ ।’