नेभिगेशन
समाचार

समयमै नबन्दा कन्काई पुल: स्थानीय जोखिम मोलेर डुंगा र बाँसको पुलमा यात्रा गर्न बाध्य

वर्षौँदेखि अधुरो रहेको कन्काई नदीको पुल निर्माणले स्थानीय जनजीवनमा गहिरो असर पारेको छ । निर्माण व्यवसायीको लापरवाही र सरकारी निकायको निरीहताका कारण झापाको गौरीगन्ज गाउँपालिकाका नागरिक वर्षा याममा डुंगा र हिउँदमा बाँसको पुलमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सरकारले समयमै निर्माण कार्य सम्पन्न गर्न नसक्ने ठेकेदारविरुद्ध कारबाही गर्न नसक्दा समस्या झनै जटिल बन्दै गएको छ । अहिले पुल बन्न नसक्दा स्थानीय बासिन्दा नदी तर्न दिनहुँ रकम तिरेर डुंगा र बाँसको पुल प्रयोग गर्न बाध्य छन् । गौरीगन्ज गाउँपालिकाले हिउँदमा बाँसको पुल र बर्खामा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजार रुपैयाँमा स्थानीय ईश्वर माझीलाई जिम्मा दिएको छ ।

ईश्वर माझीले हिउँदमा बाँसको लामो पुल बनाए । त्यस प्रयोगका लागि मोटरसाइकल यात्रीसँग ५० रुपैयाँ र साइकल यात्रीसँग ३० रुपैयाँ लिँदै आएका छन् । वर्षा सुरु भएपछि माझीले डुंगा सञ्चालन गरेका छन् । डुंगाबाट नदी तर्दा मोटरसाइकलका लागि १५० रुपैयाँ, साइकल र सामानसहितका मानिसका लागि ५० रुपैयाँ र पैदल यात्रुका लागि ३०–५० रुपैयाँसम्म शुल्क लिइन्छ ।

स्थानीय बासिन्दा बाङ्ठु महतो भन्छन्, "यहाँ दैनिक दुई सयभन्दा बढी मानिसहरू आवतजावत गर्छन् । तर पुलको काम कहिल्यै सम्पन्न हुँदैन । यसपटक पनि केही मजदुर ल्याएर झारा टार्ने शैलीमै काम गरिएको थियो ।"

पुलको अधुरो निर्माणले जनताको जीवन जोखिममा परेको छ, तर न सरकार गम्भीर देखिन्छ न ठेकेदार कम्पनी जवाफदेही । यस स्थितिले आम नागरिकले जोखिम खप्नु परेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update