नेभिगेशन
समाचार

इँटाभट्टाबाट एमबीबीएससम्म: गोमा श्रेष्ठको पढाइको जिम्मा लिए भाटभटेनी अध्यक्ष गुरूङले

काठमाडौंस्थित एक इँटाभट्टामा खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठको संघर्ष र सफलता प्रेरणादायी बनेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट ४.०० जीपीए हासिल गरेकी गोमाले आफ्नो जीवन परिवर्तनको अर्को पाटोमा प्रवेश गरेकी छिन्।

उनको यो सफलता र भविष्यप्रतिको प्रतिबद्धतालाई मन छुने गरी मूल्याङ्कन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले गोमाको एमबीबीएस तहसम्मको अध्ययनको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेका छन्।

बिहीबार भाटभटेनीको कार्यालयमा आयोजित एक कार्यक्रममा गोमालाई १ लाख रुपैयाँ नगद, एक थान ल्यापटप, र सम्मानपत्रसहित सम्मान गरियो। उक्त अवसरमा अध्यक्ष गुरुङले भने, “गोमाजस्ता मेहनती र प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्न सक्नु नै हाम्रो सानो योगदान हो।”

गोमाको संघर्षको कथा पहिलो पटक विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि देशभरबाट उनीप्रति सद्भाव, समर्थन र प्रेरणा प्रकट गरिएको थियो।

गोमाको यो प्रेरणादायी यात्राले देशभरका युवाहरूमाझ आशा र आत्मविश्वासको नयाँ सन्देश दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update