नेभिगेशन
समाचार

जुम्लाको तातोपानीमा पहिरोले पुरिँदा १३ भेडा र एक घोडाको मृत्यु

 जिल्लाको तातोपानी गाउँपालिका–८ अन्तर्गत राक्सेस्थित पाटन क्षेत्रमा आएको पहिरोले १३ भेडा र एक घोडाको ज्यान गएको छ।

सोमबार दिउँसो करिब ४ः०० बजेतिर वर्षात्का कारण आएको ठूलो पहिरोले पाटनमा चरीरहेका भेडालाई पुरेको हो। तातोपानी गाउँपालिका–७ का स्थानीय भेडापालक कृषक टेकराज रावतसहित आठ जना कृषकका भेडा चर्न लगिएको बेला एक्कासि माथिबाट पहिरो खसेको थियो।

ताम्ती टोप्ला प्रहरी चौकीका प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरका अनुसार घटनामा हालसम्म १३ भेडा र एक घोडाको मृत्यु पुष्टि भइसकेको छ। “घटनास्थल कुहिरोले ढाकिएको छ, अझै थप क्षति हुनसक्ने देखिन्छ,” उनले जानकारी दिए।

घटनास्थल सदरमुकामबाट करिब ८ घण्टा पैदल दूरीमा रहेको छ। प्रहरी इन्चार्ज बलायरको नेतृत्वमा स्थानीय बासिन्दासहितको सुरक्षा टोली घटनास्थलमा पुगेको छ भने पीडित कृषकहरू आफ्ना भेडा जम्मा गर्न व्यस्त छन्।

तातोपानी गाउँपालिका–७ का वडाध्यक्ष तिलक रावतले पहिरोबाट थप क्षति हुनसक्ने बताउँदै यकिन विवरण आउन अझै समय लाग्ने जनाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update