नेभिगेशन
समाचार

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सेभिल्ला (स्पेन) — संयुक्त राष्ट्रसंघको *‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’*मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

स्पेनको सेभिल्ला शहरमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो। विशेषगरी पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन, लगानी अभिवृद्धि तथा जनता–जनताबीचको सम्पर्क विस्तारलगायत विषयमा गहिरो कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी साञ्चेजलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिँदै नेपालमा स्पेनको दूतावास स्थापनाको आग्रह गरेका थिए। उनले नेपालको विकासमा अन्तर्राष्ट्रिय साझेदारको भूमिकालाई महत्त्व दिँदै स्पेनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने इच्छा व्यक्त गरेका थिए।

प्रधानमन्त्री साञ्चेजले राष्ट्रसंघको शान्ति मिसनमा नेपालले पुर्‍याउँदै आएको सशक्त योगदानप्रति प्रशंसा गर्दै भविष्यमा सहकार्य विस्तारको अपेक्षा व्यक्त गरेका थिए।

उक्त भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update