जिल्लाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा गएको भीषण लेदोसहितको पहिरोले ठूलो क्षति पुर्याएको छ। गएराति साढे १२ बजेतिर बस्तीभन्दा करिब ५०० मिटर माथिबाट खसेको पहिरोले गाउँका ८ घर पूर्ण रूपले पुरिँदा थप ५३ घरमा आंशिक र मध्यम क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार पहिरोले ८ घर पूर्ण रूपमा नष्ट गर्नुका साथै १२ घरमा मध्यम र बाँकीमा सामान्य क्षति पुर्याएको छ। पहिरोले रिवा गाउँस्थित एक विद्यालय भवनलाई पनि पूर्ण रूपमा क्षति पुर्याएको छ।
मोटरबाटो निर्माणकै माटोले ल्यायो विपद् डीएसपी खड्काले पहिरोको मूल कारण बस्तीमाथि निर्माण गरिएको मोटरबाटो भएको जनाए। उक्त बाटो खनिँदा निकालिएको माटो र ढुंगा वर्षासँग मिसिएर लेदो बनेर बग्दै तलको बस्तीमा प्रवेश गरेको बताइएको छ।
“बर्खाको समयमा मात्रै बग्ने तीनवटा खहरे खोलामा लेदो र ढुङ्गाको ठूलो गडगडाहटसहितको बहाव देखिएको थियो,” डीएसपी खड्काले भने, “त्यही आवाजले तल्लो बस्तीका बासिन्दालाई समयमै खतराको संकेत दियो।”
गडगडाहटको आवाजले सम्भावित खतरा महसुस गरेपछि स्थानीय बासिन्दाहरू तुरुन्तै घरबाट बाहिर निस्कन सफल भएका थिए। समयमै सतर्कता अपनाइएकोले घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।
घटनापछि स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तत्कालै घटनास्थलतर्फ खटिएको छ। सशस्त्र प्रहरीका सईको कमान्डमा ११ जनाको टोली पहिरोपीडित क्षेत्र पुगिसकेको छ। उद्धार टोलीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने, घरभित्र रहेका सामग्री सुरक्षित स्थानमा लैजाने र राहत तथा पुनःस्थापनामा सहयोग गरिरहेको छ।
डीएसपी खड्काका अनुसार, पहिरोले प्रभावित अधिकांश घर अब बस्नयोग्य छैनन्। लेदोले घरभित्र भरिएपछि स्थानीयहरू विस्थापित भएका छन्।
रिवा गाउँ जिल्ला सदरमुकाम दुनैबाट झण्डै ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्दछ। विकट भूगोल, अविरल वर्षा र जोखिमयुक्त भू-समरचना भएको कारण तत्काल थप जोखिमको आँकलन गर्दै स्थानीय प्रशासन सतर्क रहेको छ।
स्थानीय बासिन्दाहरूले तत्काल राहत, अस्थायी बासको व्यवस्था र दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्। यतिबेला वर्षा जारी रहेकोले थप पहिरोको जोखिम कायमै छ।