नेभिगेशन
समाचार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमाथि चौतर्फी हमला भइरहेको आरोप लगाएका छन्।

काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रहित र जनताको पक्षमा मजबुत ढंगले उत्रेका कारण एमालेविरुद्ध विभिन्न शक्तिहरु आक्रामक रूपमा प्रस्तुत भएको दाबी गरेका छन्।

उहाँका अनुसार राजावादी, माओवादी नामधारी कम्युनिष्ट, समाजवादी पपुलिष्ट शक्ति र केही विदेशी प्रभावले समेत एमालेलाई निसाना बनाइरहेका छन्।“एमाले नभएको भए राजावादीहरू जेठ १५ गतेदेखि सुरु गरेको आन्दोलनले गति लिँदै नारायणहिटीमा श्रीपेच लगाउनेसम्मको योजना अवरोध हुने थिएन,” महासचिव पोखरेलले भन्नुभयो, “एमालेकै कारण त्यो आन्दोलन हावामा गयो, त्यसैले उनीहरू आज हाम्रो विपक्षमा खनिएका छन्।”

महासचिव पोखरेलले एमालेमाथिको दोस्रो खालको आक्रमण कम्युनिष्ट नाममा रहेका माओवादी र समाजवादी शक्तिबाट भइरहेको बताउनुभयो। उहाँका अनुसार ती शक्तिहरू एमालेलाई कमजोर पार्नका लागि बारम्बार साइबर आक्रमण र नकारात्मक प्रचारमा संलग्न छन्।

> “एमालेलाई कमजोर नपारिएसम्म उनीहरूको आकार नबढ्ने सोचले उनीहरू लगातार आक्रामक बनेका छन्,” पोखरेलको आरोप थियो, “तिनीहरू विदेशीका भरिया हुन्। काँग्रेससँगको सत्ता साझेदारीपछि आफ्नो बार्गेनिङ घटेको महसुस गर्दै एमालेमाथि खनिएका हुन्।”

एमालेलाई लक्षित गर्ने तेस्रो शक्ति पपुलिष्ट राजनीति गर्नेहरू भएको उहाँको भनाइ छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन साह जस्ता नेताहरूको नाम उल्लेख गर्दै तिनले जनतालाई भ्रममा पारेर एमालेमाथि हमला गरिरहेको बताए।

> “उनीहरू जान्दछन् कि उनीहरूको गलत नीतिको प्रतिरोध गर्ने सामर्थ्य एमालेसँग मात्र छ,” पोखरेलले भन्नुभयो, “त्यसैले हाम्रो भण्डाफोरको डरले उनीहरू हामीमाथि आक्रामक छन्।”

महासचिव पोखरेलले अराजकतावादी प्रवृत्तिले सामाजिक सद्भावमा घृणाको संस्कृति फैलाउने प्रयास गरिरहेको र एमालेले त्यसको प्रतिरोध गर्ने भएकाले पार्टी निशानामा परेको दाबी गरे।

 बाह्य शक्तिहरूले एमालेलाई कमजोर पारेर नेपाललाई कठपुतली बनाउने रणनीति बनाइरहेको आरोप समेत लगाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update