नेभिगेशन
समाचार

कलकतिया बाली’ की चर्चित पात्र अंशा सोमबार राति आफ्नै घरमा मृत भेटिइन्

मधेशमा दलित महिलाहरूको शंकास्पद मृत्यु क्रमशः दोहोरिँदै आएको छ। न त अभियुक्त पत्ता लाग्छन्, न त घटनाबारे गम्भीर कारबाही नै हुन्छ। पछिल्लो उदाहरण हुन्, चर्चित युट्युब सिरियल ‘कलकतिया बाली’की हास्यकलाकार अंशा सदा, जो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।

२१ वर्षीया अंशा मुसहर समुदायकी थिइन्। उनी मधेशमा मात्र होइन, सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्तामाझ हास्यव्यङ्ग्य अभिनयबाट लोकप्रिय थिइन्। उनीले रिलमा सयौं पटक मृत्युको अभिनय गरेकी थिइन्, तर सोमबार राति (८ असार) उनकै जीवनको अन्त्य भयो — वास्तविक मृत्यु। अब उनका दर्शकहरू उनलाई केवल युट्युबका भिडियोहरूमा मात्रै देख्न सक्नेछन्।

धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित घरमा अंशाको शव सलको पासोमा झुन्डिएको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार ढोका भित्रबाट बन्द गरिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले राति नै घटनास्थल पुगेर शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो।

अंशाले ६ महिना अघि मात्र ‘कलकतिया बाली’ सिरियलकै निर्देशक र कलाकार अविनाश झासँग विवाह गरेकी थिइन्। अविनाश ब्राह्मण समुदायका हुन्। अन्तरजातीय विवाहप्रति धेरैले समर्थन र प्रशंसा जनाएका थिए। तर, विवाहको छोटो समयमै अंशाको रहस्यमय मृत्युले यस प्रेम र सहिष्णुता कथामा गहिरो प्रश्न उठाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयकी प्रमुख तथा डीआईजी उमा चतुर्वेदीका अनुसार अनुसन्धान प्रारम्भिक चरणमा छ। घटनास्थलबाट फेला परेका मोबाइल, क्यामेरा तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बरुण सिंहले बताएका छन्।

"सुटिङस्थलकै घरमा घटना भएकाले त्यहाँ भएका डिभाइसहरू पनि परीक्षणका लागि संकलन गरेका छौं," उनले भने।

अंशाको शव उनको श्रीमान्ले बुझी दाहसंस्कार गरिसकेका छन्।

यदि अंशाले आत्महत्या नै गरेकी हुन् भने पनि—किन भन्ने प्रश्न अझै अनुत्तरित छ। मुसहर समुदायकी अति विपन्न महिला अंशा आत्महत्या गर्न बाध्य हुने अवस्था के थियो? कसले उनलाई यस्तो मानसिक पीडामा पु¥यायो? उनले सामना गरेका पारिवारिक, सामाजिक वा पेसागत दबाब के थिए? यी सबै प्रश्नहरूको जवाफ प्रहरी अनुसन्धानबाट आउन आवश्यक छ।

अंशाको मात्र होइन, यसअघि पनि मधेशका दलित समुदायका महिलाहरू—जसमा रिंकु, आनन्दीदेवी र पूजाकुमारी जस्ता नामहरू सामेल छन्—को पनि शंकास्पद मृत्यु भएको छ। तर, ती घटनाहरू पनि अनुसन्धानकै नाममा हराए, दोषी नत पत्ता लागे, न कारबाही भयो।

मधेशमा दलित महिला माथि हुने रहस्यमय र शंकास्पद मृत्युलाई हल्का रूपमा लिइनु चिन्ताजनक विषय हो। अंशा सदा मात्र होइन, उनका जस्तै थुप्रै महिलाहरूको मृत्यु अन्योल र निष्पक्ष छानबिनको अभावमा बिर्सन लागिन्छ।

अब पनि यदि राज्य मौन बस्छ भने यो केवल एउटा कलाकारको मृत्यु होइन, न्यायप्रणालीको पनि पतन हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update