बाँसगढी, असार १२ –
कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउने उद्देश्यका साथ नेपाल सरकार सिंचाइ मन्त्रालयअन्तर्गत सिंचाइ विभागले बाँसगढी नगरपालिका–९, तोरैयामा निर्माण गर्न लागेको डिप ट्युबवेल योजनाको सिलान्यास गरिएको छ। एक भव्य समारोहबीच लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले योजनाको शिलान्यास गर्नुभयो।

उक्त योजनाबाट तोरैयासहित आसपासका सयौं किसानलाई सिंचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ। वर्षौंदेखि सिंचाइको अभावमा परम्परागत वर्षा आश्रित कृषि गरिरहेका किसानहरूका लागि यो योजना आर्थिक सुधार, उत्पादनवृद्धि, र खाद्य सुरक्षाको दिशामा महत्वपूर्ण कदम मानिएको छ।
सिलान्यास कार्यक्रममा बोल्दै सभासद चौधरीले सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने खालका योजनामा प्राथमिकता दिएको उल्लेख गर्दै भन्नुभयो, “खेतीयोग्य जमिनमा सिंचाइ पुगे जनताको आम्दानी बढ्छ, गाउँ फर्किन्छ। यस्ता योजनाले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा हुन्छ।”
चौधरीले जनप्रतिनिधि कुनै दल विशेषको नभई सम्पूर्ण जनताको प्रतिनिधि भएको उल्लेख गर्दै विकासका सवालमा सबैले साथ र समर्थन दिनुपर्नेमा जोड दिनुभयो। उहाँले गणतन्त्रपछि स्थानीय तहमा देखिएको विकास चेतना र जनआशालाई समेट्दै नेतृत्वमा इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभयो।
बाँसगढी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष चन्द्रबहादुर शाहीले डिप ट्युबवेल योजनाले तोरैयाको समग्र कृषिक व्यवस्था परिवर्तन गर्ने विश्वास व्यक्त गर्दै आफू जनताको जीवनस्तर सुधारमा समर्पित रहेको बताउनुभयो। उहाँले विकासका कार्यहरूमा अग्रजहरूको साथ, जनताको विश्वास र सहकार्यलाई सबैभन्दा ठूलो बलका रूपमा स्वीकार गर्नुभयो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुस्पलाल श्रेष्ठले किसानहरूलाई उत्पादनसँग जोड्न ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। “कृषकको प्रमुख समस्या मल र सिंचाइ हो,” उहाँले भन्नुभयो, “यीनको समाधान बिना कृषिमा रूपान्तरण सम्भव छैन। पार्टी नेतृत्वले यिनै विषयमा निरन्तर दबाब दिँदै आएको छ।”
बबई नहरको कमाण्ड क्षेत्रमा परे पनि तोरैयाका किसान सिंचाइ सुविधाबाट बञ्चित रहँदै आएका थिए। माननिय भुवनेश्वर चौधरी, स्थानीय जनप्रतिनिधि र नागरिकको संयुक्त पहलमा पूर्व सिंचाइ मन्त्री तथा संघीय सांसद संजय गौतमको अथक प्रयासले यो योजना व्यवहारमा ल्याइएको हो।
कार्यक्रमका अध्यक्ष भुपाल थारुले योजनाको सुरुआतप्रति धन्यवाद दिँदै किसानको अनुहारमा मुस्कान ल्याउने काम सुरु भएको बताउनुभयो।
कार्यक्रमको सञ्चालन युवा व्यवसायी, समाजसेवी एवं नेपाली कांग्रेस बाँसगढी नगर सचिव ओमप्रकाश पौडेलले गर्नुभयो। उहाँले युवाहरूको सहभागीता, उद्यमशीलता र नेतृत्वले विकास योजनालाई थप प्रभावकारी र स्थायी बनाउने विश्वास व्यक्त गर्नुभयो।
