जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ ढिमे निवासी ५६ वर्षीया हिउकली चन्दलाई जंगलतर्फ बाख्रा चराउन जाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी छिन्।

प्राप्त जानकारीअनुसार बिहान बाख्रा चराउन गएकी चन्द घरदेखि केही दूरीमा रहेको बाटोमा लथालिङ्ग अवस्थामा छरिएका विद्युतका नाङ्गा तारहरूबाट गुज्रने क्रममा छाताले तार छोएपछि करेन्ट लागेको हो। घाइते चन्दलाई तत्काल प्राथमिक उपचारका लागि घरमै राखिएको छ तर अस्पताल लैजान नसकिएको परिवारले जनाएको छ।

पीडितका छोरा जनक चन्द 'ऋतु' का अनुसार घटनापछि नेपाल विद्युत प्राधिकरणलाई गाडीसहित उद्धार गर्न आग्रह गरिएको थियो, तर सहयोग पाइएको छैन। साथै, नेपाल प्रहरीको टोली पनि घटनास्थलमा आएर कुनै चासो नदेखाई फर्किएको गुनासो छ।
“हामीले विद्युत प्राधिकरण र प्रहरी दुवैलाई खबर गर्यौं। तर कोही जिम्मेवार देखिएनन्। आमाको अवस्था गम्भीर हुँदै गएको छ तर गाउँमा गाडीको सुविधा नहुँदा अस्पताल लैजान सकिएको छैन,” पीडितका छोरा जनकले बताए।
ढिमे गाउँमा वर्षौंदेखि विद्युत सेवा अव्यवस्थित छ। बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य स्थानीय बासिन्दाहरूको ज्यानै जोखिममा पार्ने गरी तारहरू सडकभरि अलपत्र फिँजिएका छन्। यसले मानिस मात्र होइन, पशुपालक जनावरहरूलाई पनि खतरा निम्त्याइरहेको छ।
स्थानीयवासीहरूले पटक–पटक विद्युत प्राधिकरणमा गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको बताउँदै यस घटनाले लापरवाहीको चरम उदाहरण पेश गरेको टिप्पणी गरेका छन्।
हिउकली चन्दको शीघ्र उपचारको व्यवस्था मिलाउन स्थानीय सरकार, विद्युत प्राधिकरण, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिहरूको ध्यान आकर्षण होस।
हामी घाइते आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र यस्ता लापरवाही घटना दोहोरिन नदिन सशक्त कदम चाल्न सम्बन्धित निकायलाई जोडदार अपिल गर्दछौं।
