नेपाली कांग्रेस सुनकोशी गाउँपालिका समितिले मिति २०८२ असार ९ गते गाउँपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय सरकारको कार्यशैलीप्रति गम्भीर चासो व्यक्त गरेको छ। औपचारिक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्छी लामा र प्रवक्ता ईश्वर तिमल्सिनाको उपस्थितिमा बुझाइएको उक्त पत्रले नीति, योजना, सेवा प्रवाह र न्यायिक कार्यमा पारदर्शिता, समावेशिता, जवाफदehitा र संवैधानिक विधिको पालना गर्न जोडदार माग गरेको छ।

ध्यानाकर्षण पत्रमा विकासमा असमानता, सेवा प्रवाहमा विभेद, योजना छनोटमा मनमानी, विपद् व्यवस्थापनमा नातावाद, युवाका लागि स्वरोजगार कार्यक्रमको अभाव, पूर्वाधार निर्माणमा दूरदृष्टिको कमी र पालिकाको स्थायी भवन निर्माणमा ढिलाइजस्ता गम्भीर विषयहरू समेटिएका छन्। यी मुद्दाहरूले स्थानीय सरकारको कार्यक्षमता र उत्तरदायित्वमाथि प्रश्न उठाएको नेपाली कांग्रेसको ठहर छ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको उल्लेखनीय सहभागिता थियो। संस्थापक गाउँपालिका अध्यक्ष तथा महासमिति सदस्य श्रवण कुमार जि.सी., महासमिति सदस्य एवम् पूर्व वडाध्यक्ष रामकुमार थापा, निवर्तमान उपाध्यक्ष लक्ष्मी पौडेल, जिल्ला कार्यसमिति सहसचिव नरेश कार्की, प्रदेश ‘ख’ सभापति देवेन्द्र खड्का, महिला संघकी केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख अधिवक्ता मुकेश सेन्चुरी, पालिकाका सबै वडाध्यक्षहरू, क्षेत्रीय प्रतिनिधिहरू, बौद्धिक व्यक्तित्वहरू, भातृ संस्थाका पदाधिकारीहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।
नेपाली कांग्रेस सुनकोशी गाउँपालिका समितिका सभापति रुपकाजी लामाले ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय सरकारले संविधान र कानुनअनुसार उत्तरदायी ढंगले काम नगरे वैधानिक विरोध र जनदबाबको बाटो अवलम्बन गर्न बाध्य हुने चेतावनी दिए।