नेभिगेशन
समाचार

बालेन–गुरागाईँ विवादका कारण काठमाडौँ महानगरको बजेट अनिश्चित, भोलि पनि नआउने

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भोलि (मंगलबार) पनि नआउने भएको छ। मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीच लामो समयदेखि चलिरहेको विवादले बजेट प्रकृया अवरुद्ध भएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नगरसभामार्फत बजेट प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता हुँदाहुँदै पनि कार्यपालिका बैठक नबस्दा बजेट अनिश्चित बनेको छ। महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार कार्यपालिका तथा नगरसभा बैठक नबस्दा असार १० मा बजेट आउन नसक्ने पक्का भएको हो।

मेयर बालेनले समन्वयका लागि उपमेयर सुनिता डंगोल, प्रवक्ता मानन्धर, वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीलाई जिम्मा दिए पनि उनीहरूबीच सहमति नजुट्दा बैठकको मिति तय हुन सकेन।

महानगरको कार्यपालिका बैठक सात महिनादेखि बस्न सकेको छैन। अन्तिम पटक पुस ८ गते बसेको बैठकले पुस १४ मा नगरसभाको १६औँ अधिवेशन डाकेको थियो। त्यसयता नीति तथा कार्यक्रम, बजेट निर्धारण समिति र अन्य अनिवार्य प्रकृयाहरू अगाडि बढ्न सकेका छैनन्।

यस्तो अवस्थामा कानुनी समयसीमा नाघेर बजेट ल्याउनु पर्ने दबाब छ, तर आन्तरिक राजनीतिक असहमतिले महानगरको कार्यसम्पादनमा गम्भीर प्रभाव परेको छ। समस्या समाधान नभएसम्म बजेट प्रक्रिया अझै अलमलमा पर्ने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update