नेभिगेशन
समाचार

पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित, सडकबाट खस्दा १० घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा यात्रुवाहक बस दुर्घटना हुँदा ७ भारतीयसहित १० जना घाइते भएका छन्।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको बस आज बिहान करिब साढे चार बजे आफैं अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल खसेको थियो। दुर्घटनाका बेला बसमा २५ जना यात्रु सवार थिए।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार घाइतेमध्ये भारतीय नागरिकहरू भारतको सितामढी र दरभंगा जिल्लाका हुन्। घाइतेहरूमा रेखा देवी (४४), जहदेवी झा (२२), बिसु कुमार पटेल (११), मोहमद अमज (२६), मोहमद अकिल, नरगिस खातुन (३८), र २ वर्षीया आयस प्रतिक रहेका छन्।

त्यस्तै, नेपालतर्फका घाइतेहरूमा धनुषा क्षिरेश्वरनाथ–१ का अनुष्का निगम (२३), जनकपुरकी सन्तोषी ठाकुर (३५) र महोत्तरी जलेश्वर–४ की पुनम ठाकुर (४३) रहेका छन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारण बसको ब्रेक फेल भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update