नेभिगेशन
समाचार

धनगढी उपमहानगरको नयाँ नीति : दलित विद्यार्थीका लागि छात्रवृत्ति, महिलाको आयआर्जन र युवालाई स्टार्टअपमा जोड्ने योजना

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि दलित विद्यार्थी, महिला उद्यमशीलता र युवाको सीप विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख गोपाल हमालले शनिबार १३औँ नगर अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा दलित विद्यार्थीका लागि ‘दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ ल्याउने घोषणा गरे। यसअन्तर्गत कक्षा ११/१२ तथा स्नातक तहसम्म विज्ञान, कानुन, शिक्षा र कृषि विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ।

त्यस्तै, ‘दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत कक्षा ८ देखि १० मा अध्ययनरत छात्रालाई वार्षिक दुई हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री निःशुल्क प्रदान गरिनेछ। नगर प्रमुख हमालका अनुसार यसले दलित बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिमा योगदान पुर्‍याउनेछ।

महिला र युवालाई लक्षित कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छन्। महिलाको आर्थिक सशक्तीकरणका लागि सञ्चालन भइरहेको शनिबारीय महिला उद्यम बजारलाई निरन्तरता दिइनेछ भने युवालाई व्यवसायमा जोड्न ‘रात्रिकालीन बजार’ सञ्चालन गरिने जनाइएको छ। यसमार्फत युवा पढाइसँगै आयआर्जनमा सक्रिय बन्ने र स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित हुने अपेक्षा गरिएको छ।

उपप्रमुख कन्दाकलाकुमारी रानाले दुई अर्ब ५६ करोड चार लाख ६६ हजार रुपैयाँको आयव्यय अनुमानसहितको बजेट प्रस्तुत गरिन्। कुल बजेटमध्ये एक अर्ब ३८ करोड २६ लाख चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख पुँजीगततर्फ विनियोजन गरिएको छ।

बजेटमा आन्तरिक आयबाट ५४ करोड ७९ लाख, राजस्व बाँडफाँडबाट ५७ करोड ६० लाख, संघीय सरकारबाट ९९ करोड ९ लाख र प्रदेश सरकारबाट ११ करोड २२ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

स्वास्थ्य, शिक्षा, सरसफाइ, पूर्वाधार, उद्यम, सीप विकास, सामाजिक विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको छ। प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेट शनिबारको नगर अधिवेशनले पारित गरेको उपमहानगरले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update