नेभिगेशन
समाचार

रवि लामिछानेको आरोप : ‘सिङ्गो राज्यको दुरुपयोग गरेर ममाथि सङ्गठित अपराध भइरहेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सिङ्गो राज्यको दुरुपयोगको सिकार भएको गम्भीर आरोप लगाएका छन्। रास्वपाको स्थापना दिवसको अवसरमा भैरहवा कारागारबाट पठाइएको अपिल सन्देशमार्फत उनले आफू राजनीतिक प्रतिशोधको निशाना बनेको दाबी गर्दै जनतालाई हस्ताक्षर अभियानमा सहभागी हुन आह्वान गरेका छन्। साथै, अभियान सञ्चालनका लागि आर्थिक सहयोगको निम्ति क्युआर कोडसमेत सार्वजनिक गरिएको छ।

अपिलमा लामिछानेले लेखेका छन्, “म एकजनालाई बलि चढाएर अरूको राजनीति जोगाउने खेल चलिरहेको छ। मसँग अब हाडछाला र एक मुठी प्राण मात्र बाँकी छ। सत्यबाहेक अरू केही छैन।”

लामिछानेले आफूमाथि सहकारी सम्बन्धी मुद्दा जालसाजीपूर्वक थोपरिएको र आफू कुनै सहकारीको सदस्य, ऋणी वा कर्मचारी नरहेको स्पष्ट पारेका छन्। उनले जीवी राई र छविलाल जोशीसँगको सहकार्यमा सञ्चालित गोर्खा मिडिया प्रालिमा कार्यरत रहेको उल्लेख गर्दै सम्पूर्ण आर्थिक कारोबार जीवी राईकै निगरानीमा भएको दाबी गरेका छन्।

“मेरो नाममा खोलिएको भनिएको खाता र ऋण फर्जी हुन्,” लामिछानेले दाबी गरे, “म कुनै सहकारीको सदस्य छैन, ऋण लिएको छैन, र मेरो कुनै निवेदन वा हस्ताक्षर पनि कतै छैन।”

उनले सरकारी अनुसन्धानमा पनि आफ्नो संलग्नता प्रमाणित हुन नसकेको जिकिर गर्दै सोधिएका १० प्रश्नको विस्तृत जवाफ दिएका छन्। तीमध्ये प्रमुख बुँदाहरू यसप्रकार छन् :

सहकारीबाट पैसा आएको छैन, न त आफ्नो खातामा कुनै लेनदेन भएको छ।

सहकारीसँग सम्बन्धित भनिएका चेकहरू आवश्यक कार्यसम्पादनका लागि खाली चेकमा हस्ताक्षर गरिएको हो।

आफ्नो नाममा कुनै सवारीसाधन छैन, सहकारीको प्रणालीमार्फत बनाइएका खाता फर्जी हुन्।

जीवी राईले सहकारीबाट ल्याएको पैसा आफूलाई जानकारीबिना लगानी गरिएको हो।

लामिछानेले राज्य संयन्त्रको प्रयोग गरेर आफूलाई “देशकै सबैभन्दा ठूलो अपराधी” सावित गर्न खोजिएको आरोप लगाए। “काल कोठरीमै मरेँ भने पनि यो देशले यिनीहरूसँग छत्तीस वर्षका अपराधहरूको हिसाब नमागी छाड्ने छैन,” उनले भनेका छन्।

अन्त्यमा उनले आफू सधैं सत्यको पक्षमा रहेकाले जुनसुकै कानुनी परीक्षाका लागि पनि तयार रहेको जनाउँदै जनताको ऐक्यबद्धता आवश्यक रहेको अपिल गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update