नेभिगेशन
समाचार

उपाचारमा लापरबाही गर्ने ॐ अस्पताललाई ५० लाख क्षतिपूर्ति तिराउन अदालतको आदेश

चाबहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले अस्पताल र संलग्न चिकित्सकहरूलाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

विसं २०८१ माघ ५ गते बाथरुममा लडेका ९८ वर्षीय हरिप्रसाद गौतमलाई उनका छोरा वसन्त गौतमले तत्काल ॐ अस्पतालको इमरजेन्सी कक्षमा पुर्‍याएका थिए। तर, अस्पतालले सामान्य परीक्षण मात्र गरी ‘केही समस्या छैन’ भन्दै फर्काएको आरोप वसन्तले लगाएका थिए। केही दिनसम्म पनि पिताको पीडा कम नभएपछि अर्को अस्पतालमा जाँच गर्दा खुट्टामा फ्र्याक्चर भएको पत्ता लागेको थियो।

घटनापछि वसन्त गौतमले त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतमा अस्पताल र चिकित्सकमाथि ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए। बिहीबार उपभोक्ता अदालतका न्यायाधीश रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताल र चिकित्सकको लापरबाही पुष्टि गर्दै ८० प्रतिशत दाबी स्वीकार गरेको हो।

अदालतले ॐ अस्पताललाई ५० लाख रुपैयाँ र संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ४० हजार ५ सय रुपैयाँका दरले कुल ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको अधिवक्ता ज्योति बानियाँले जानकारी दिइन्।

उपभोक्ता अदालतको यो फैसला स्वास्थ्य सेवामा लापरबाही गर्नेलाई कानुनी दायरामा ल्याउन सकिन्छ भन्ने सन्देश बोकेको छ। गुणस्तरीय सेवा पाउनुपर्ने उपभोक्ताको अधिकारलाई सम्बोधन गर्दै अदालतले दिएको आदेशले अस्पताल प्रशासन र चिकित्सा क्षेत्रमा तरंग ल्याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update