नेभिगेशन
समाचार

जाजरकोट भूकम्प : पन्ध्र महिनापछि डिडिए गर्ने तयारी, पुर्ननिर्माण अझै अन्यौल

जाजरकोट भूकम्प : पन्ध्र महिनापछि डिडिए गर्ने तयारी, पुर्ननिर्माण अझै अन्यौल

जाजरकोट । १५ महिनाअघि ( १७ कात्र्तिक, ०८०) जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन (डिडिए)को प्रक्रिया बल्ल अगाडि बढेको छ ।
निजी आवास पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डिडिएका लागि त्रिविवि, इन्जिनियरिङ अध्ययन संस्थानको विपत् व्यवस्थापन केन्द्रसँग सम्झौता गरेको छ । त्यसबाहेक विभिन्न दातृ निकायले पनि डिडिएका लागि प्रतिबद्धता जनाएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार चालू आवभित्रै पुनर्निर्माण थाल्ने गरी केही दिनमै डिडिएको काम सुरु हुनेछ ।

जाजरकोट भूकम्पमा मात्र १२ जिल्लामा ९१ हजार आठ सय ६२ घर पुनर्निर्माण–प्रबलीकरण गर्नुपर्ने प्रारम्भिक आँकडा रहे पनि विस्तृत मूल्यांकन अब हुन लागेको हो । साझेदार निकायसँग सहकार्यबाहेक प्राधिकरण आफैँले पनि विस्तृत क्षति मूल्यांकन गर्ने भएको छ ।

प्राधिकरणका सहसचिव इन्जिनियर अर्जुन बमका अनुसार डिडिएका लागि सहरी विकास मन्त्रालयसँग एक सय इन्जिनियर माग गरिएको छ । निजी आवास पुनर्निर्माणका लागि तराईमा तीन, पहाडमा चार र हिमालमा पाँच लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउने र प्रबलीकरणका लागि ५० हजारदेखि एक लाखसम्म अनुदान दिने निर्णय सरकारले गरिसकेको छ ।

दातृ निकायले पनि जनाए डिडिएमा प्रतिबद्धता
पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन गर्न दातृ निकायले पनि प्रतिबद्धता जनाएका छन् । विपत् व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन बमका अनुसार जाजरकोट र रुकुम पश्चिममा २६ हजार तीन सय ४१ घरको डिडिएका लागि सहमति भएको छ ।

क्याथोलिक रिलिफ सर्भिसेजले रुकुम पश्चिममा तथा युएनडिपी, केयर नेपाल, सेभ द चिल्ड्रेन र पिपुल इन नेपालले जाजरकोटमा डिडिए गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसबाहेक प्लान इन्टरनेसनल, डेन चर्चएड, आइओएम र सामुदायिक आत्मर्निभर सेवा केन्द्रले पनि ती दुई जिल्लाका पालिकामा डिडिएका लागि सघाउने प्रतिबद्धता जनाएका छन् ।

विपत् व्यवस्थापन केन्द्रले भेरी र नलगाडमा डिडिए गर्ने
विपत् व्यवस्थापन केन्द्रले जाजरकोटको भेरी र नलगाड नगरपालिकाका आठवटा वडामा विस्तृत क्षति मूल्यांकन (डिडिए) गर्ने भएको छ । भेरी–१ का आठ सय नौ घर, ३ नम्बर वडाका चार सय ९५ घर, ४ नम्बर वडाका पाँच सय २८ घर, ८ नम्बर वडाका एक सय ८१ घर र ११ नम्बर वडाका पाँच सय ५६ घरको डिडिए गरेर सामान्य मर्मत, प्रबलीकरण वा पुनर्निर्माणबारे टुंगो लगाइनेछ ।

त्यस्तै, नलगाड–१ का नौ सय १६ घर, २ नम्बर वडाका ९७ घर र ३ नम्बर वडाका सात सय १४ घरको डिडिए पनि केन्द्रले गर्नेछ । अस्थायी आवासका लागि पहिलो किस्ताको अनुदान निकासा भएका आधारमा लाभग्राही संख्या निकालिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update