नेभिगेशन
समाचार

"पत्रकार सुरेश रजकको मृत्यु भएको घरमा आगो मैले लगाएको हुँ" – तारा राजावादी

चैत १५ को राजावादी आन्दोलनमा हिंसा, तोडफोड र आगजनीमा संलग्नताको आरोपमा दुर्गा प्रसाईसहित ५० जनामाथि मुद्दा, पत्रकारको ज्यान लिने घटनामा सरोकारवालाको संलग्नता खुल्दै

काठमाडौंमा चैत १५ गते आयोजित राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको ज्यान गएको घटनामा सनसनीपूर्ण मोड आएको छ। अनवरत तत्पर फौज (एटीएफ) का स्वयंसेवक तथा सुरक्षा दस्ता सदस्य तारा राजावादी भनिने सरोज गौतमले रजक मृत भेटिएको घरमा आफैले आगो लगाएको बयान दिएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। सो अभियोगमा तारा राजावादी समेत प्रतिवादीका रूपमा समावेश छन्।

प्रहरीसमक्ष दिएको बयानमा उनले आन्दोलनको तयारीदेखि घटनाको सम्पूर्ण प्रवृत्तिमा आफू सक्रिय रहेको बताएका छन्। उनका अनुसार, चैत १५ गते बिहान १० बजे नै उनी घटनास्थलमा पुगेका थिए। उनले दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्र लगायतसँग पटक–पटक कार्यक्रमसम्बन्धी छलफल भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “स्टेजमा मिश्र र शम्शेरले उत्तेजनात्मक अभिव्यक्ति दिएपछि प्रसाईसहितको समूह निषेधित क्षेत्रमा प्रवेश गर्न गाडी कुदाउँदै संसद् भवन कब्जा गर्नुपर्छ भनेर भिडलाई उत्तेजित गरिरहेका थिए।” त्यही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप सुरु भएको थियो।

गौतमको बयान अनुसार, उनीसँगैको समूहले पाँच तले पक्की घरको सटर तोडेर भित्र प्रवेश गरेको थियो। त्यहाँ तोडफोड, लुटपाट र आगजनी भइरहेको अवस्थामा गोकर्ण शाहीको हातमा रहेको लाइटर लिई उनले घरमा आगो लगाएका थिए।

"त्यसपछि म भागेर डेरा कोठा गएको थिएँ," उनले भनेका छन्, “सामाजिक सञ्जालबाट थाहा पाएँ कि मैले आगो लगाएको घरभित्र फोटो र भिडियो खिचिरहेका पत्रकार सुरेश रजकको मृत्यु भएको रहेछ।”

घटनामा प्रत्यक्ष संलग्न व्यक्तिबाट आएको यो स्वीकारोक्तिपछि घटनाको अनुसन्धान थप गम्भीर मोडमा पुगेको छ। यसले उच्च राजनीतिक र संगठनात्मक तहसम्म पुग्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update