नेभिगेशन
समाचार

राष्ट्रिय सहमतिको सरकारको माग गर्दै सांसद सञ्जयकुमार गौतमको सुझाव : "संविधान र गणतन्त्र संकटमा पर्न सक्छ"

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनका लागि केही समयका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सत्ता गठबन्धन सरकार जनताको आशा र भरोसा जित्न असफल भएको भन्दै यस्तो प्रस्ताव अघि सारेका हुन्।

सांसद गौतमले मुलुक संवैधानिक, राजनीतिक र जनविश्वासको गम्भीर संकटतर्फ उन्मुख भएको बताउँदै प्रमुख राजनीतिक दलहरूलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गरे। “म शीर्ष नेताहरुलाई टाउको जोड्न आग्रह गर्छु,” उनले भने, “राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सक्यौं भने मात्र संविधान संशोधन, जनआशा पुनःस्थापना र गणतन्त्रको स्थायित्व सम्भव हुन्छ।”

उनका अनुसार वर्तमान सरकार कांग्रेस र एमालेको गठबन्धनमा बनेको भए पनि सरकार सरकारजस्तै देखिएको छैन। “एउटा सांसदका रूपमा हेर्दा पनि सरकार जनअपेक्षाअनुसार चलिरहेको छैन,” उनले गम्भीर आलोचना गर्दै भने, “जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन।”

गौतमले सरकार मात्र होइन, संसद् र न्यायपालिका पनि जनविश्वासको केन्द्र बन्न नसकेको बताए। “संसद्मा अपेक्षित ‘भाइब्रेशन’ छैन,” उनले भने, “जनताका समस्या उठ्दैनन्, संसद् निष्प्रभावी छ।” उनले न्यायपालिकाप्रति पनि जनताको भरोसा गुम्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

गौतमको मन्तव्यले हालको राजनीतिक नेतृत्व र संरचना प्रति व्यापक समीक्षा र वैकल्पिक सोचको खाँचो औंल्याएको छ। उनका अनुसार वर्तमान संरचनाले दीर्घकालीन समाधान दिन नसक्ने भएकाले देशलाई नयाँ ऊर्जा र मार्गदर्शन दिने राष्ट्रिय सहमतिको संयन्त्र अपरिहार्य भएको छ।

उनको यस्तो अभिव्यक्तिले आगामी दिनमा राष्ट्रिय राजनीतिमा गम्भीर बहसको सुरुवात गर्ने संकेत देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update