नेभिगेशन
समाचार

रास्वपा सभापतिसहित समिति नै माओवादीमा

खोटाङको खोटेहाङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रित्तिएको छ। रास्वपाको खोटेहाङ गाउँ कार्यसमितिका सभापति प्रदीप आचार्यसहित समिति नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेपछि रास्वपाको संरचना खाली भएको छ।  

माओवादी केन्द्रको खोटेहाङमा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का खोटेहाङ गाउँ सचिवालय सदस्य तथा खोटेहाङ गाउँपालिका ४ का वडा सदस्य किरण राई र सचिवालय सदस्य प्रकाश कटुवाल पनि माओवादीमा प्रवेश गरेका छन्।  

शुक्रबारको प्रशिक्षण समापनमा रास्वपा र एमालेका नेता-कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेका आचार्यले रास्वपाको नेतृत्वको कार्यशैली र नीति जनपक्षीय नभएको बताए।  

नवप्रवेशीहरूलाई माओवादीका केन्द्रीय सदस्य समिता कार्की, जिल्ला समन्वय कमिटी संयोजक दीपक पाण्डे र खोटेहाङ पार्टी इन्चार्ज तथा गाउँपालिका अध्यक्ष उदिम राईले खादा, माला र अविर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँ पार्टी अध्यक्ष तथा वाईसिएल केन्द्रीय सदस्य किशान राई र खोटेहाङ पार्टी कमिटी अध्यक्ष दिपेन थुलुङ पनि उपस्थित थिए।  

रास्वपाका पूर्वसभापति आचार्यले रास्वपामा नीति, सिद्धान्त र कार्यक्रम नभएको, सस्तो लोकप्रियतावादमा आधारित भएको र एक व्यक्ति केन्द्रित भएको बताए। उनले रास्वपाको भविष्य नभएको दाबी पनि गरेका छन्। माओवादीमा स्पष्ट नीति, सिद्धान्त, जनयुद्धको इतिहास, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाको योगदान भएकोले आफूहरू आकर्षित भएको उनकाे भनाइ थियाे। 

स्वागत गर्दै केन्द्रीय सदस्य समिताले नवप्रवेशीहरूलाई पार्टीले जिम्मेवारी दिने बताइन्। उनले माओवादी जनताको मुक्तिको आधार भएको र ०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर देश निर्माण गर्ने दाबी गरिन्।  

संविधानसभा सदस्यसमेत रहेकी समिताले पछिल्लो एक वर्षमा माओवादीप्रति जनआकर्षण बढेको उल्लेख गरिन्। उनले पार्टीको नीति र परिवर्तनको भूमिकाले जनताको भरोसा जितेको दाबी गरिन्।  

माओवादीले खोटाङका १० वटै स्थानीय तहमा अधिवेशन गर्दै जनतासँग जोडिने कार्यक्रम गरिरहेको छ। जिल्ला संयोजक पाण्डेले माओवादी संगठन बलियो भएको र ०८४ मा उत्साहजनक नतिजा ल्याउने गरी काम भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update