नेभिगेशन
समाचार

जाजरकोटमा लडेर घाइते भएकी ७० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु

जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीमा लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीय ७० वर्षीया विष्णु परियार आइतबार दिउँसो करिब १२:१० बजे ठाँटीस्थित बाग्लुङ होटलको हेरचाह गरिरहेकी अवस्थामा बारीको छेउमा सुतिरहेको बेला एक्कासी उठ्ने क्रममा करिब ५ मिटर तल सडकमा खसेकी थिइन्।
खस्दा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्कालै जिल्ला अस्पताल जाजरकोट पुर्याइएको थियो। तर, उपचारकै क्रममा सोही दिन दिउँसो १२:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक प्रेम हमालको नेतृत्वमा ६ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update