आन्दोलन सुरु भएको दिनदेखि नै अनौपचारिक छलफल गरिरहेको मन्त्रालयले शनिबार शिक्षकसँग औपचारिक रूपमा पहिलो पटक वार्ता गरेको थियो । वार्ताका क्रममा मन्त्रालयले शिक्षकका मागबारे जानकारी मात्रै लिएको थियो ।
त्यसपछि मन्त्रालयले शिक्षकसँग औपचारिक रूपमा दोस्रो चरणको वार्ता गरेको छैन तर अनौपचारिक रूपमा छलफल गरेर तत्काल पूरा गर्न सक्ने र दीर्घकालीन रूपमा पूरा गर्न सकिने मागका बारेमा छलफल गरिरहेको छ । मन्त्रालय स्रोतका अनुसार शिक्षकलाई निजामती कर्मचारी सरह स्वास्थ्य सुविधा प्रदान गर्ने, निजामती कर्मचारी सरह ग्रेड वृद्धि गर्ने, राहत, अस्थायी, करारका शिक्षक, प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको तलब वृद्धि तथा बिदा सञ्चितिलगायतका विषयमा मन्त्रालयले छलफल गरिरहेको छ ।
अनौपचारिक छलफलबाट दुई पक्षबिच सहमति भएपछि औपचारिक रूपमा वार्ता गरेर आन्दोलन फिर्ता लिने सहमति गर्ने तयारी मन्त्रालय तथा शिक्षक महासङ्घले गरिरहेका छन् । यसका लागि मन्त्रालय र महासङ्घका अधिकारी आन्तरिक छलफलमा जुटेका छन् ।
मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक आन्दोलन नलम्बिने गरी छलफल भइरहेको बताउनुभयो । सापकोटाले भन्नुभयो, “यो यो विषयमा सहमति भयो भनेर सार्वजनिक गरिहाल्ने गरी परिपक्व भएको त छैन तर आन्दोलन टुङ्ग्याउने गरी कुराकानी भइरहेको छ ।”
यसैबिच विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा आफूहरूको पेसागत हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका शिक्षक र प्रहरीबिच आइतबार झडप भएको छ । झडपमा केही शिक्षक घाइते भएका छन् । आन्दोलनको समाचार सङ्कलन गरिरहनुभएकी सञ्चारकर्मी सबिना कार्की पनि घाइते हुनुभएको छ । चैत २० गतेदेखि निरन्तर आन्दोलन गरिरहेका शिक्षकले आइतबार पनि बानेश्वर तथा बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका थिए ।
बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ तर शिक्षकले भने आफूहरूले निषेधित घेरा पनि नतोडेको र प्रहरीलाई ढुङ्गा प्रहार पनि नगरेको दाबी गरेका छन् । झडपमा दुई दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन् । घाइते शिक्षकहरूको सिभिल अस्पतालमा उपचार भइरहेको नेपाल शिक्षक महासङ्घले जनाएको छ । घाइते शिक्षकको निधार, टाउको, हात तथा शरीरमा चोट लागेको छ ।
सञ्चारकर्मी कार्कीको आँखामा गम्भीर समस्या आन्दोलनको समाचार सङ्कलन गर्न जानुभएकी प्राइम टाइम्स टेलिभिजनकी क्यामेरा पर्सन सबिना कार्की गम्भीर घाइते हुनुभएको छ । आन्दोलनरत शिक्षकलाई तितरबितर पार्न प्रहरीले छोडेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको हो । कार्कीको तिलगङ्गा आँखा अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार कार्कीको दुवै आँखाको भित्री भागसम्मै चोट लागेको छ । अस्पतालका चिकित्सक सिवान्त श्रेष्ठले भन्नुभयो, “सञ्चारकर्मी कार्कीको दुवै आँखाको लेन्स सुन्निएको छ । रगत जमेको छ ।”
डा. श्रेष्ठका अनुसार आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन (देख्ने क्षमता) कम कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ ।
यसैबिच नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेर आन्दोलनको समाचार सङ्कलनका क्रममा घाइते हुनुभएकी सञ्चारकर्मी कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पनि विज्ञप्ति जारी गरेर घाइते सञ्चारकर्मी कार्कीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।