नेभिगेशन
समाचार

साइबर ठगी? कसरी चिन्ने र सुरक्षित रहने,

तपाईंको नम्बर लक्की ड्रमा विजेता भएको छ। ५० हजार रूपैयाँ जित्नुभयो। कृपया तुरून्तै यो लिंक क्लिक गरी दाबी गर्नुहोस्।

— प्रिय ग्राहक, तपाईंको बैंक खाता सुरक्षा जाँचका लागि हाम्रो सिस्टमले तपाईँलाई ‌ओ‌टिपी पठाएको छ। कृपया सो कोड हामीलाई पठाउनुहोस्, अन्यथा तपाईंको खाता ब्लक हुनेछ।

— हामी तपाईंलाई अनलाइन रिभ्यु दिन केही सजिलो काम गर्न चाहन्छौं। यदि तपाईं आफ्नो फुर्सदको समयमा सहयोग गर्न सक्नुहुन्छ भने, राम्रै कमिसन पाउनुहुन्छ।

यीमध्ये कुनै पनि म्यासेज तपाईंलाई आएको छ भने, साबधान रहनुहोस्!

यी सबै ठगीका जाल हुन्।

डिजिटल ठगीहरू दिनप्रतिदिन बढ्दै र परिस्कृत हुँदै गइरहेका छन्।

बैंकिङ ठगी, लगानी गरी मुनाफा दिने भन्दै गरिने ठगी (इन्भेस्टमेन्ट स्क्याम), जागिर दिलाइदिन्छु भनेर (फेक जब अफर) गरिने ठगी, अनलाइन किनमेल ठगी, क्युआर कोड पठाएर गर्ने ठगी, नक्कली लिंक, इमेल वा सन्देशमार्फत् तपाईंको विवरण चोरेर (फिसिङ) गरिने ठगी— ठगहरूले यस्तै तरिका प्रयोग गरी तपाईंको पैसा र व्यक्तिगत जानकारी लुट्ने प्रयास गर्छन्।

इन्टरनेटको यो युगमा, आफू सुरक्षित रहन सचेत रहनु र त्यसबारे शिक्षित हुनु अत्यावश्यक छ। सचेतना नै तपाईंको सबभन्दा बलियो सुरक्षा कवच हो।

नेपालमा इसेवा, खल्ती, आइमएमई पे, कनेक्ट आइपिएस जस्ता डिजिटल भुक्तानी सेवाहरू लोकप्रिय छन्।

यस्तै माध्यमबाट ठगहरूले ओटिपी (वान-टाइम पासवर्ड), पासवर्ड वा बैंक विवरण चोरी गरेर ठगी गर्ने नयाँ तरिका अपनाएका छन्। 

ओटिपी भनेको बैंक वा डिजिटल वालेटमा लग–इन गर्न वा कुनै कारोबार जस्तै पैसा पठाउँदा (फन्ड ट्रान्सफर) स्वीकृत गर्न प्रयोग गरिने अस्थायी सुरक्षा कोड हो। यो केबल तपाईंको मोबाइल नम्बर वा इमेलमा पठाइन्छ।

ठगहरूले आफूलाई बैंक वा डिजिटल वालेटको प्रतिनिधि व्यक्ति हुँ भन्दै फोन, एसएमएस वा म्यासेज मार्फत ओटिपी माग्छन्।

कहिलेकाहीँ, 'तपाईंको खाता ब्लक हुन सक्छ भन्दै डर देखाएर वा 'तपाईंले पुरस्कार जित्नुभयो' भनेर लोभ देखाएर पनि ओटिपी लिन खोज्छन्। तपाईंले ओटिपी दिएमा ठगहरूले तपाईंको बैंक वा डिजिटल वालेटमा लग–इन गर्न सक्छन्। वा, तुरून्तै पैसा पठाएर तपाईंलाई ठग्न सक्छन्।

 

कसरी सुरक्षित हुने 

  • ओटिपी, पासवर्ड, वा बैंक विवरण कहिल्यै कसैलाई नदिनुहोस्।
  • बैंक वा पेमेन्ट गेट–वेले फोन वा म्यासेज गरेर ओटिपी माग्दैनन्। त्यसैले ओटिपी माग्दै फोन वा म्यासेज आयो भने तुरून्तै आफ्नो खाता रहेको बैंक वा सेवा प्रदायकको आधिकारिक नम्बरमा सोध्नुहोस्। 
  • आफ्नो बैंक वा सेवा प्रदायकसँग कुरा नगरी ओटिपी माग्नेलाई कुनै प्रतिक्रिया नदिनुहोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update