नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेसँगै देशभर विरोध प्रदर्शन चर्किएको छ। मंगलबार दिनभर घिसिङको समर्थनमा विभिन्न स्थानमा प्रदर्शन भए। सिंहदरबारअगाडि नेकपा बहुमतका युवाहरूले सरकारको निर्णयको विरोधमा आन्दोलन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
पर्नेमा १० पुरुष र २ महिला रहेका छन्। प्रदर्शनकारीहरूले सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्दै घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले गरेको प्रगति खेर जान नहुने माग गरेका थिए।
सरकारको निर्णयको आलोचना
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेपछि सामाजिक सञ्जालदेखि सडकसम्म चर्को असन्तोष देखिएको छ। सरकारको यस कदमलाई धेरैले ‘अन्यायपूर्ण’ भन्दै विरोध जनाइरहेका छन्।
नेकपा बहुमतसहित विभिन्न दलनिकट युवा संगठन, स्वतन्त्र अभियन्ता र सर्वसाधारणले सरकारको निर्णय फिर्ता लिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। "घिसिङलाई हटाउनु भनेको नेपाल विद्युत् प्राधिकरणको प्रगति रोक्नु हो," एक प्रदर्शनकारीले भने।
बर्खास्तीको कारणबारे सरकार मौन
सरकारले कुलमान घिसिङलाई हटाउने स्पष्ट कारण खुलाएको छैन। तर, घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएको, विद्युत् उत्पादन र वितरणमा सुधार आएको भन्दै सर्वसाधारणले उनको पुनर्नियुक्तिको माग गरिरहेका छन्।
यस बर्खास्ती निर्णयबारे अझै पनि सरकारको आधिकारिक धारणा बाहिर आएको छैन। तर, विरोध प्रदर्शनले सरकारलाई दबाब दिने देखिन्छ। अब सरकारको निर्णय यथावत् रहनेछ वा जनमतको दबाबका कारण पुनर्विचार गरिनेछ भन्ने चासो बढेको छ।