२ वर्षअघि अनेरास्ववियुबाट बर्दिया बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका देवराज अधिकारीले आफ्नो फेसबुकमा लेखेको यो स्टाटसले हजारौं नेपाली युवाको मन भारी बनाइदिएको छ। देशप्रेमको भावनाले ओतप्रोत यो शब्दहरू केवल व्यक्तिगत अनुभूति मात्र होइन, हजारौं युवाको सामूहिक पीडा हो।
सपना बोकेर जन्मिएका युवा किन देश छोड्न बाध्य?
राजनीतिमा सक्रिय, समाज परिवर्तनका लागि उर्जाशील, र देशमै केही गर्ने अठोट लिएका देवराज अधिकारी जस्ता युवाहरू जब अवसर नपाएर, निराश भएर, अन्ततः परदेशको बाटो समात्न बाध्य हुन्छन्, तब प्रश्न उठ्छ— हामीले कसका लागि देश बनाइरहेका छौं?
शिक्षा, स्वास्थ्य, रोजगारी, र आर्थिक स्थायित्व जस्ता आधारभूत कुरामा अस्थिरता हुँदा देशभित्रै संघर्ष गर्ने सपना देख्नेहरूलाई पनि विदेशिन बाध्य बनाइएको छ। देवराज अधिकारी मात्र होइन, उनको सपना जिउन नसक्ने हजारौं युवा आज रोजगारीको खोजीमा विदेशी भूमिमा पलायन भइरहेका छन्।
देशका नीति-निर्माताहरूले हजारौं देवराज अधिकारीहरूको चीत्कार सुन्न सकेका छन् कि छैनन्? "समृद्ध नेपाल, सुखी नेपाली" भन्ने नारा कति युवाको वास्तविकता बन्न सक्यो? जब हरेक बिहान त्रिभुवन विमानस्थलबाट हजारौं युवा सुनौलो भविष्यको खोजीमा विदेसिन्छन्, तब यो देशका शासकहरूलाई लज्जाबोध हुन्छ कि हुँदैन?
देश बनाउन सक्रिय योगदान दिन चाहने युवाहरूलाई नै अवसर दिन नसक्ने व्यवस्थाले कहिलेसम्म उनीहरूलाई विदेशिन बाध्य बनाउने? उत्तर खोज्न ढिला भइसकेको छ।