नेभिगेशन
शिक्षा

भावनाले भरिएको विदाई : भगवती माविका कक्षा १० का विद्यार्थीलाई ‘फेरि भेटौला’ सन्देश

जाजरकोटको कुसे गाउँपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आज एक  स्मरणीय कार्यक्रमका बीच विदाई गरिएको छ। “विदाई तथा फेरि भेटौला” शीर्षकमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आत्मीय वातावरणमा बिदाइ गरिएको हो।


विद्यालयका शिक्षक नवराज भण्डारीका अनुसार कार्यक्रममा प्रधानाध्यापक देब बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मर रोकाय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रम केवल औपचारिक विदाईमा सीमित रहेन, बरु भावनाहरूको संगम बनेको थियो। सांस्कृतिक प्रस्तुति, गीत–संगीत र अनुभव आदानप्रदानले कार्यक्रमलाई जीवन्त बनाएको थियो। यसै क्रममा शिक्षक नवराज भण्डारीले गाएको विदाईको गहकिलो गीतले उपस्थित सबैको मन छोयो, जसले क्षणभरका लागि सबैलाई भावुक बनायो।


प्रधानाध्यापक देब बहादुर बस्नेतले आफ्ना भावपूर्ण अभिव्यक्तिमार्फत विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति दृढ रहन प्रेरित गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरे। त्यस्तै, व्यवस्थापन समिति अध्यक्ष अम्मर रोकायले पनि विद्यार्थीहरूको आगामी यात्रामा सफलता प्राप्त होस् भन्ने कामना गर्दै विदाई सन्देश दिएका थिए।
विद्यार्थीहरूले पनि ‘मन बहकिने भाका’ मार्फत आफ्ना सम्झना, अनुभूति र विद्यालयप्रतिको माया अभिव्यक्त गरेका थिए। हाँसो र आँसु सँगै बगेका ती क्षणहरूले कार्यक्रमलाई अझ गहिरो बनाएको थियो।


समग्रमा, कार्यक्रमले विद्यालय जीवनका अमूल्य सम्झनाहरूलाई सम्मान गर्दै नयाँ यात्रातर्फ अघि बढ्ने विद्यार्थीहरूलाई ऊर्जा, आत्मविश्वास र प्रेरणा प्रदान गरेको देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update