नेभिगेशन
समाचार

एक वर्षमै गए आठ लाख ३९ हजार युवा वैदेशिक रोजगारीमा

गत आर्थिक वर्ष ०८१/८२ मा आठ लाख ३९ हजार २६६ युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यसरी बिदेसिनेमध्ये ६०.२८ प्रतिशत नयाँ हुन् भने २९.७२ प्रतिशत पुन: श्रम स्वीकृति लिएर गएका छन् । यस वर्ष नेपाली १७८ मुलुकमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । 

 वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ३१ लाख ८१ हजार १९१ पुरुष र ३ लाख ३५ हजार ७७४ महिला छन्। सरकारी प्रणालीमार्फत कोरिया र इजरायल जाने युवाको संख्या १२ हजार ६५३ रहेको छ भने तीमध्ये ६२५ जना इजरायल पुगेका छन्।

विभागले शुक्रबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीसम्बन्धी पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो। आर्थिक वर्ष ०८१/८२ मा मात्रै आठ लाख ३९ हजार २६६ युवा श्रम स्वीकृति लिएर विदेश गएका छन्। तीमध्ये ६०.२८ प्रतिशत नयाँ तथा २९.७२ प्रतिशत पुनः श्रम स्वीकृति लिएका छन्।

हालसम्मकै सबैभन्दा धेरै नेपाली १७८ मुलुकमा रोजगारीका लागि गएका छन्। तीमध्ये सबैभन्दा बढी युवा यूएई, साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन गएका छन्। यूएईमा मात्रै दुई लाख ७४ हजार ५९१ जना पुगेका छन्।

सरकारले वैदेशिक रोजगारीलाई अझ प्रभावकारी, सुरक्षित र पारदर्शी बनाउने अभियानस्वरूप केही सुधारका कार्यक्रमहरू अघि बढाएको छ। अब वैदेशिक रोजगारमा जानुअघि अनिवार्यरूपमा लिनुपर्ने अभिमुखीकरण तालिमलाई डिजिटल प्रविधिमा आधारित बनाइने भएको छ। हाल एक सातासम्म भौतिक रूपमा सहभागी भएर तालिम लिनुपर्ने व्यवस्था छ भने त्यसका लागि सरकारसहित १३८ निजी तालिम संस्थाहरू सक्रिय छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार अब श्रमिकलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न द्विपक्षीय सम्झौता तथा सीपअनुसार देशअनुसार फरक तलब दर निर्धारण गरिनेछ। यूएईका लागि एक हजारदेखि १५ सय दिराम न्यूनतम तलब तोकिएको छ।

पछिल्लो वर्ष मात्र व्यक्तिगत श्रम स्वीकृति लिएर एक लाख ३३ हजार ६२७ जना विभिन्न मुलुक गएका छन्। तीमध्ये धेरैले जापान, रोमानिया, क्रोएसिया, कोरिया र इजरायल रोजेका छन्। म्यानपावरमार्फत पहिलोपटक काम खोज्दै तीन लाख ५९ हजार ६७५ युवा गएका छन् भने पुनः श्रम स्वीकृति लिएर तीन लाख ३३ हजार ३०९ युवा विदेशिएका छन्।

खाडी मुलुकमा केन्द्रित नेपाली श्रमिक अब युरोपका विभिन्न देशतर्फ आकर्षित हुन थालेका छन्। तथ्यांकअनुसार रोमानिया छैटौँ र क्रोएसिया १०औँ रोजाइमा परेका छन्। वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि अब देशभित्र ७२५ म्यानपावर कम्पनीहरूले सेवा दिइरहेका छन्।

सरकारले वैदेशिक रोजगारीमार्फत विदेशी मुद्रा भित्र्याउनुका साथै श्रमिकको सुरक्षाका लागि थप कडाइ, पारदर्शिता र प्रविधिमैत्री व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। रोजगारीका लागि देश छोड्न बाध्य युवाको कथा अब केवल संख्या होइन, राष्ट्रिय नीतिमा प्राथमिकता दिने विषय बन्न थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update