२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषबाट र ६५ करोड रुपैयाँ अन्य वाह्य स्रोतहरूबाट व्ययभार हुने अनुमान गरिएको छ। बजेट तर्जुमा गर्दा समावेशी विकास, समानताको प्रवर्द्धन, स्वरोजगार सिर्जना, सांस्कृतिक संरक्षण, र गुणस्तरीय सेवा प्रवाहमा जोड दिइएको उनले स्पष्ट पारिन्।
महानगरले विशेषगरी लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रममार्फत समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ। स्थानीय भाषा, संस्कृति र सम्पदाको जगेर्ना, सामाजिक सद्भाव र एकता अभिवृद्धिमा सघाउने कार्यक्रम, तथा विदेशिने जनशक्तिलाई स्वदेशमै सीपमूलक तालिमद्वारा स्वरोजगार बनाउने योजना समेत बजेटको मुख्य अंश हुन्।
‘आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न उपलब्ध स्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिनेछौँ,’ उपप्रमुख डंगोलले भनिन्, ‘स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरणमा जोड दिनेछौँ।’
महानगरले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै गुणस्तरीय वस्तु तथा सेवा सर्वसाधारणमा पुर्याउने, वातावरणीय सन्तुलन कायम राख्ने, स्मार्ट प्रविधिको उपयोगमार्फत सेवा प्रवाह सुधार गर्ने र समुन्नत, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा आफ्नो भूमिका स्पष्ट रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा राजधानीको विकासलाई थप प्रभावकारी, समावेशी र दिगो बनाउने रणनीतिहरू समेटिएका छन्। पूर्वाधार विस्तारसँगै शिक्षा, स्वास्थ्य, वातावरण, शहरी व्यवस्था, यातायात तथा अपांगता मैत्री सेवा प्रणाली निर्माणमा समेत विशेष ध्यान दिइने महानगरको भनाइ छ।
यस बजेटमार्फत महानगरले जनताको जीवनस्तर उकास्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, र सहरी जीवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्य राखेको छ।