बर्दिया - बाँसगढी नगरपालिका वडा नं. ५ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि ऐतिहासिक कदम चालिएको छ। युवा सञ्जाल बाँसगढीको आयोजनामा, वडा कार्यालयको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय मोतिपुर तथा बाँसगढी उद्योग वाणिज्य संघको समन्वयमा आयोजित एक बृहत् छलफल कार्यक्रममा १३ बुँदे प्रतिबद्धता पत्र हस्ताक्षर गरी जनप्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ।

यो कार्यक्रमले सामुदायिक एकता र सामाजिक जिम्मेवारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।कार्यक्रममा वडाका जनप्रतिनिधि, टोल विकास संस्था/बरघर संस्था, समुदायका युवाहरू, व्यवसायी नेतृत्व, सुरक्षाकर्मी, र युवा सञ्जालका कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लागुऔषध दुर्व्यसनको भयावह समस्यालाई न्यूनीकरण गर्न युवा समूह, टोल विकास संस्था, र जनप्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा गहन छलफल गरी प्रस्तुतीकरणमार्फत महत्वपूर्ण विषयवस्तुहरू उठाएका थिए। छलफलका क्रममा उठेका मुद्दाहरूलाई समेट्दै तयार गरिएको १३ बुँदे प्रतिबद्धता पत्रले समुदायमा लागुऔषधविरुद्ध सशक्त अभियानको आधार तय गरेको छ।

यो पहलको मुख्य उद्देश्य लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न समुदायका सबै पक्षलाई एकजुट बनाउनु रहेको छ। कार्यक्रममा सहभागीहरूले प्रहरीलाई सूचना प्रदान गर्ने, सहयोग गर्ने र लागुऔषध न्यूनीकरणका लागि संयुक्त रूपमा काम गर्ने संकल्प व्यक्त गरेका छन्। "हाम्रो आग्रह यति हो कि अब कार्यान्वयनमा सबै एकजुट भएर लागौं। प्रहरीलाई सहयोग गरौं, सूचना दिऔं। लागुऔषध भयावह भएको छ। सबै मिलेर न्यूनीकरणमा लागौं," युवा सञ्जालकाले आग्रह गरेको छ।
यो कार्यक्रमले बाँसगढी नगरपालिका-५ लाई लागुऔषधविरुद्ध लड्न सामुदायिक एकताको प्रेरणादायी उदाहरण बनाएको छ। स्थानीय नेतृत्व, युवा, र व्यवसायीहरूको सक्रिय सहभागिताले यो अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। लागुऔषध दुर्व्यसनले समाजमा निम्त्याएको चुनौतीलाई सामना गर्न यो पहलले ठोस आधार प्रदान गरेको छ।
