नेभिगेशन
समाचार

जिल्लाको सुनकोसी गाउँपालिकाबाहेकका स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रम प्रस्तुत

 

सिन्धुपाल्चोक,  जिल्लाको सुनकोसी गाउँपालिकाबाहेकका स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आफ्नो गाउँदेखि नगरसभा सम्पन्न गरेका छन्। निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटनलाई प्राथमिकता दिँदै यी स्थानीय सरकारले आगामी वर्षका लागि ठोस योजनाहरू अघि सारेका छन्।

बाह्रबिसे नगरपालिका : निःशुल्क शिक्षा र विपद् न्यूनीकरणमा जोड

बाह्रबिसे नगरपालिकाले १७औँ नगरसभाबाट ६० करोड ३३ लाख ८४ हजार ४ सय ८३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। निःशुल्क शिक्षा र मनसुनजन्य विपद् न्यूनीकरणलाई प्राथमिकता दिएको नगरले शिक्षाका लागि ४ करोड र विपद् प्रभावितका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको मेयर बालकृष्ण बस्नेतले बताए।  

‘सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन मन्टेश्वरी शिक्षकको तलब २० हजार पुर्‍याएका छौँ, कक्षा ८ सम्म दिवा खाजा र कक्षा १२ सम्म निःशुल्क शिक्षाको नीतिलाई निरन्तरता दिएका छौँ,’ मेयर बस्नेतले भने। मनसुनजन्य घटनाबाट घरबार गुमाएका पीडितलाई सहयोग गर्न विशेष बजेटको व्यवस्था गरिएको उनले उल्लेख गरे।

त्रिपुरासुन्दरी गाउँपालिका : कृषि, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

त्रिपुरासुन्दरी गाउँपालिकाले १८औँ गाउँसभाबाट ४७ करोडको बजेटसहित निःशुल्क शिक्षा, कक्षा ८ सम्म दिवा खाजा, आमा बचाऊ अभियान, खानेपानीको मुहान परीक्षणलगायतका योजनाहरू अघि सारेको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले कृषि र शिक्षालाई मुख्य प्राथमिकतामा राखिएको बताए।  

‘स्नातक पास गरेकालाई रोजगारी सिर्जना, उज्यालो त्रिपुरा अभियानअन्तर्गत सडक बत्ती, मुटु रोगीलाई निःशुल्क औषधि र ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्छौँ,’ उनले भने। बाझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी प्रोत्साहन अनुदान, कृषि बजारीकरण र चिस्यान केन्द्र निर्माण पनि गाउँपालिकाको लक्ष्यमा छन्।

जुगल गाउँपालिका : विकट गाउँमा शिक्षाको पहुँच विस्तार

जुगल गाउँपालिकाले निःशुल्क शिक्षा, गुणस्तरीय पूर्वाधार र विकट क्षेत्रमा शैक्षिक पहुँच विस्तारलाई जोड दिएको छ। अध्यक्ष रेशम स्याङ्बोले हालै सञ्चालित ‘शैक्षिक खोज अभियान’ले विकट गाउँमा धेरै बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेको देखिएको बताए।  

जंगलको बीचमा रहेको तिलुमाराङ गाउँमा बसोबास गर्ने २० परिवारका १७ बालबालिकालाई गाउँपालिकाले चनौटेस्थित रत्नराज्य माविमा भर्ना गराएको छ। ‘यहाँबाट विद्यालय पुग्न चार घण्टा जंगलको बाटो हिँड्नुपर्छ। बाघ–भालुको त्रास र भाषिक अवरोधले बालबालिका पढाइबाट वञ्चित थिए। हामीले शिक्षादेखि खानपान र बसोबाससम्मको खर्च व्यहोरेका छौँ,’ स्याङ्बोले भने। वर्षमा एकपटक अभिभावकलाई चनौटे बोलाउने व्यवस्था पनि मिलाइएको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update