कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४ अर्ब ३८ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । १७ औँ नगर सभामा मंगलबार उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नगरले सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र घण्टाघर पार्क दक्षिणतिर आधुनिक सूचना प्रविधि (आईटी) पार्क निर्माण गर्ने योजना अघि सारेको छ, जहाँ युवाहरूलाई खुला अध्ययन तथा रोजगारीको अवसर प्रदान गरिनेछ। 'विदेशिने युवा घटाऔँ, स्वदेशमै रोजगारी बढाऔँ' भन्ने मूल नाराका साथ सूचना प्रविधि, उद्यमशीलता, तालिम र सीप विकासमार्फत युवा रोजगारी सिर्जना गर्ने नीति अघि सारिएको छ।
नगरपालिकाले डिजिटल सेवा प्रवाहलाई समेत प्राथमिकतामा राखेको छ। फाइल ट्र्याकिङ सिस्टम, ई-दस्तावेज हस्ताक्षर, कर र सेवा शुल्कका लागि ई-भुक्तानी प्रणाली, नागरिक प्रमाणपत्र तथा अनुमतिपत्रहरू अनलाइनमार्फत प्रदान गर्ने नीति लिइएको छ। यससँगै नगरलाई पूर्ण रूपमा डिजिटल नगरपालिका बनाउने लक्ष्य लिइएको छ।
पूर्वाधारको विकासमा नगरले शहरी सौन्दर्य र पहुँच अभिवृद्धिमा जोड दिएको छ। घण्टाघर पार्क, खुला क्षेत्र, ट्राफिक लाइट, रोड मार्किङ, पार्किङ स्थल, सीसी क्यामेरा र स्मार्ट लाइटजस्ता शहरी सुविधामा २२ करोड ३४ लाख बजेट विनियोजन गरिएको छ। नगर यातायात सहज बनाउन नगर बस खरिदका लागि २ करोड छुट्याइएको छ।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीबाट पानी ल्याउने लिफ्टिङ प्रविधि परियोजना अगाडि बढाउन ११ करोड ६० लाखको म्याचिङ फन्डको व्यवस्था गरिएको छ। साथै, डिप बोरिङ, पाइपलाइन विस्तार, पुराना आयोजना मर्मत तथा वडास्तरीय कार्यक्रममार्फत समस्या समाधान गरिनेछ।
सामाजिक समावेशीकरणलाई सशक्त बनाउँदै महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित व्यवसायमा २० प्रतिशत कर छुटको व्यवस्था गरिएको छ। सरकारी संरचना निर्माण गर्दा अपाङ्गतामैत्री मापदण्ड अनिवार्य गरिएको छ।
शिक्षा र स्वास्थ्यमा समेत उल्लेखनीय बजेट छुट्याइएको छ। गुणस्तरीय विद्यालय शिक्षाका लागि ५ करोड ५९ लाख, महिला अस्पताल सञ्चालनका लागि ३७ लाख ५० हजार र हिंसापीडित महिलाको सेफहाउस सञ्चालनका लागि २० लाख विनियोजन गरिएको छ।
कृषि तथा पशुपालनलाई व्यावसायिक रूप दिई आत्मनिर्भरतातर्फ उन्मुख गर्न १ करोड ३० लाख, भूमिहीनलाई पुर्जा वितरणमा २५ लाख, सहकारी तथा पर्यटन प्रवर्द्धनमा ३० लाख र फोहोर व्यवस्थापनमा ४ करोड ५० लाख विनियोजन गरिएको छ।
नगर उपप्रमुख नीलकण्ठ खनालका अनुसार नागरिकबाट आएका मागहरू सम्बोधन गर्न २९ करोड ७९ लाख थप बजेट पूर्वाधारतर्फ विनियोजन गरिएको छ।
यसरी नीति, कार्यक्रम र बजेटमार्फत वीरेन्द्रनगरले प्रविधिमा आधारित समावेशी विकास, डिजिटल सेवा प्रवाह, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सामाजिक न्यायलाई आधार मानेर समृद्धिको दिशामा ठोस कदम चालेको स्पष्ट देखिन्छ।