नेभिगेशन
समाचार

दक्षिण एसियाली स्वर्ण विजेता रसाइली, सातौँ राष्ट्रिय जर्ज प्रशिक्षकको भूमिकामा

सिन्धुपाल्चोकको विकट पहाडबाट जन्मिएका राजकुमार रसाइलीले आफ्नो रगत–पसिनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएका छन्। उसु खेलमार्फत वि.सं. २०५३ सालमा यात्रा सुरु गरेका रसाइली, दक्षिण एसियामा स्वर्ण पदक जित्ने पहिलो नेपाली पुरुष उसु खेलाडी बने। खासगरी दलित समुदायबाट यति ठूलो सफलता हासिल गर्ने उनी नेपालकै पहिलो खेलाडीका रूपमा चिनिन्छन् — जुन आफैँमा ऐतिहासिक र प्रेरणादायी छ।

तर यो सफलताको कथा सजिलो थिएन। विकट गाउँमा न त खेलकुद सामग्री थिए, न प्रशिक्षकहरू। आर्थिक अभाव, सामाजिक विभेद र अवसरको कमीले रसाइलीजस्ता खेलाडीहरू दिनदिनै आफ्नो सपनासँग जुध्न बाध्य थिए। एउटा सामान्य किक बक्सिङ्ग पेन, एउटा सामान्य म्याट किन्ने हैसियतसम्म थिएन। भोक पेट, फाटेको लुगा, छहरिएको जुत्ता लगाएर उनीहरू मञ्चमा पुग्थे।

फुल कन्ट्याक्ट कराते, किक बक्सिङ, क्योकुसिन कराते, सेल्फ डिफेन्स, मोइथाई जस्ता दर्जनौं विधामा उनले प्रभुत्व जमाउँदा पनि राज्यको ध्यान र सम्मान त्यति पर्याप्त थिएन।

नेपालजस्तो स्रोत–साधन सीमित देशमा स्वर्ण जित्नु चानचुन होइन रसाइलीले वि.सं. २०६३ मा श्रीलंकाको कोलम्बोमा आयोजित १०औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि उसु खेलमा ऐतिहासिक स्वर्ण जिते। यो केवल व्यक्तिगत जित होइन, राज्यका लागि अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्ने अवसर थियो।

नेपालजस्तो विकासशील देश, जहाँ खेलकुद अझै पनि प्राथमिकता होइन, त्यहाँ अन्तर्राष्ट्रिय स्वर्ण ल्याउनु भनेको असम्भव जस्तै थियो। बजेट नहुनु, खेलाडीको स्वास्थ्य सुरक्षाको प्रवन्ध नहुनु, तालिमका लागि उचित सुविधा नहुनु, विदेश पठाउँदा आधा बाटोमा नै सहयोग रोकिनु—यस्ता सयौं कठिनाइबीच रसाइलीले विजय हासिल गरेका थिए।

"खेलाडी भएर बाँच्न त संघर्ष नै संघर्ष हो"  रसाइली

रसाइली भन्छन्, "हामी खेलकुदलाई आफ्नो जिन्दगी दिन्छौं, तर खेलकुदबाट जिन्दगी सजिलो छैन। धेरै पटक त साग जितेर फर्किएपछि घर भित्र पस्न साह्रो हुन्थ्यो, किनभने त्यहाँ न पुरस्कार हुन्थ्यो, न सम्मान।"

नेपालमा अझै खेलाडीहरू अनिश्चित भविष्य, अल्प बजेट, सीमित स्वास्थ्य सुरक्षाजस्ता गम्भीर समस्याबाट जुधिरहेका छन्। प्रशिक्षण सुविधाको चरम अभाव, अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुग्नका लागि आवश्यक भौतिक तथा आर्थिक सहयोगको नितान्त कमीले धेरै खेलाडीहरू बीचै बाटोमै हराइरहेका छन्।

नकआउट नायक रसाइली, जसले कहिल्यै हार मानेनन्

उनले हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ४५ जना खेलाडीहरूलाई नकआउट गरेका छन्। अझ विशेष कुरा, आफू भने एक पटक पनि नकआउट भएका छैनन्। यो केवल शारीरिक कौशल होइन, चातुर्य, रणनीति र आत्मविश्वासको विजय हो। त्यसैले खेलकुद विश्लेषकहरू उनलाई "चतुर र मायावी खेलाडी"का रूपमा सम्मान गर्छन्।

अब नयाँ सपना : प्रशिक्षकका रूपमा नयाँ इतिहास लेख्ने

नेपाल उसु संघले हालै आयोजना गरेको ७औं नेसनल उसु जज एग्जामिनेशन कोर्स २०२५ तथा ११औं नेसनल उसु डिप्लोमा ट्रेनिङ कोर्समा उनलाई सम्मानपूर्वक प्रशिक्षक नियुक्त गरेको छ। रसाइलीले अब भविष्यमा नेपालका लागि नयाँ पुस्तालाई तयार पार्ने, उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउने ठूलो जिम्मेवारी बोकिरहेका छन्।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रशिक्षकका रूपमा काम गर्दै, रसाइलीले कयौं नयाँ खेलाडीहरूलाई सपना देख्न र त्यो सपना पूरा गर्ने हिम्मत सिकाइरहेका छन्।
पैसा नभए पनि इच्छापूर्ति र आत्मसन्तुष्टि — रसाइलीको साँचो सम्पत्ति

राजकुमार रसाइलीको खेल यात्रा केवल पदक र प्रमाणपत्रका लागि थिएन। उनले खेलकुदलाई आफ्नो जीवनको सपना र साधना बनाए। धेरै मानिसहरू खेलकुदमा सुनौलो भविष्य, ठूलो धन कमाउने आशा गर्छन्, तर रसाइलीको कथा अलि फरक छ।

उनले खुलेर स्वीकार गर्छन् —
"खेलकुदबाट म करोडपति त भएन, तर आफ्नो इच्छा, सपना र देशप्रेम पुरा गर्न पाएँ। आज म आफूलाई धन्य मान्छु।"
रसाइलीका लागि पैसाको संख्याभन्दा ठूलो कुरा थियो  आफ्नो देशको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन पाउनु। त्यो स्वर्ण पदकको चमकमा उनले आफ्ना सयौं दुःख, अभाव र घाउहरू बिर्सिए।

नेपालजस्तो देशमा, जहाँ खेलकुदलाई प्रायः दोस्रो तहको विषय मानिन्छ, जहाँ खेलाडीले निरन्तर संघर्षका बीच आफ्नो जीवनयात्रा तय गर्नुपर्छ, रसाइलीले आत्मसम्मान र गर्वलाई आफ्नो असली सम्पत्ति बनाएका छन्।

उनको लागि अन्तिम लक्ष्य सधैं एउटै रह्यो "धेरै पैसा कमाउने होइन, आफ्नो आत्मालाई सन्तुष्ट पार्ने, सपना पुरा गर्ने र भावी पुस्तालाई प्रेरित गर्ने।"

उनको यही सोचले आज उनी प्रशिक्षकका रूपमा नयाँ पुस्तालाई सिकाइरहेका छन्
"खेल केवल पदक जित्ने साधन होइन, खेल आत्मा जित्ने साधन हो।"

रसाइली जस्ता खेलाडीहरूले नेपाली समाजलाई सिकाइरहेका छन् कि, साँचो सफलता पैसामा मात्र होइन, इच्छापूर्ति, आत्मसन्तुष्टि र राष्ट्रप्रेममा निहित हुन्छ।

रसाइलीको सपना
"मेरो सपना, नेपाललाई फेरि अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण दिलाउने हो। खेलाडीहरूलाई आत्मसम्मान, सशक्त भविष्य र राष्ट्रिय पहिचान दिनु हो। हामीले सपना मात्र देख्ने होइन, त्यो सपना पूरा गर्नका लागि राज्य र समाज दुवै पक्षबाट जिम्मेवारी बाँड्नुपर्छ।"
देशले उचित स्थान दियो भने, ज्यान अर्पण गर्न तयार — रसाइलीको भावुक अठोट

राजकुमार रसाइलीको लागि खेलकुद केवल आफ्नो जीवन होइन, आफ्नो देशप्रतिको निःस्वार्थ समर्पण पनि हो। उनी स्पष्ट शब्दमा भन्छन्
"यदि देशले खेलकुद र खेलाडीलाई उचित स्थान र सम्मान दिन सक्यो भने, म आफ्नो ज्यानै दिएर पनि नयाँ पुस्तालाई सशक्त बनाउनेछु।"

उनले अनुभव गरेका छन्  योग्य खेलाडीहरू अवसरको अभावमा निराश हुँदै गएका छन्, सपनाहरू दविँदै गएका छन्। तर रसाइलीको विश्वास टुटेको छैन। उनी अझै पनि पूर्ण समर्पणका साथ भन्छन्:
"खेलाडीलाई उचित प्रशिक्षण, सुविधा र सम्मान मिले भने, हामीले संसारलाई पनि चकित पार्न सक्छौं।"

रसाइलीको अठोट केवल शब्दमा आज पनि उनी दिनरात मैदानमा पसिना बगाइरहेका छन्, नयाँ पुस्तामा आत्मबल, अनुशासन र राष्ट्रप्रेम भरिरहेका छन्। उनी भन्छन् —
"मेरो जीवनको हरेक क्षण खेलकुद र खेलाडीको सेवा र समर्पणका लागि हो। यदि देशले मलाई विश्वास र अवसर दियो भने, म आफ्नो सबै ऊर्जा र ज्यान यही अभियानमा अर्पण गर्न तयार छु।"

उनी जस्ता समर्पित व्यक्तित्व नै हुन्, जसले कठिन परिस्थितिमा पनि देशलाई गौरवान्वित गराउँछन् र नयाँ सपना बोकेर अगाडि बढ्न प्रेरित गर्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update